पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी तापक्रम बढ्दै जाँदा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा उम्मेदवार छोटेलाल यादवको राजनीतिक यात्रा र नियतमाथि गम्भीर प्रश्नहरू उठ्न थालेका छन। निर्वाचन नजिकिँदै गर्दा उनको निरन्तरता, प्राथमिकता र स्पष्ट एजेन्डा भन्दा पनि अवसरअनुसारको उम्मेदवारी शैली चर्चाको केन्द्रमा पुगेको छ।
पछिल्ला निर्वाचनहरूमा कहिले प्रदेशसभा त कहिले प्रतिनिधिसभामा उम्मेदवारी दिने क्रम दोहोरिँदा यादवको दीर्घकालीन राजनीतिक लक्ष्य के हो भन्ने प्रश्न मतदातामाझ तीव्र बन्दै गएको छ। उनको कार्यशैली रणनीतिक लचकता होइन, पद–केन्द्रित राजनीतिक निर्णयको संकेत हो। क्षेत्रको समग्र विकासभन्दा व्यक्तिगत राजनीतिक अस्तित्व जोगाउने प्रयास बढी देखिएको आरोप पनि लाग्दै आएको छ।
चुनावी प्रचारका क्रममा यादवले अघि सारेका विभिन्न आश्वासन र कार्यक्रमलाई विपक्षी दलहरूले "लोभलाग्दा नारा" को संज्ञा दिएका छन। उनीहरूले ती प्रतिबद्धतामा ठोस कार्ययोजना, समयसीमा र स्रोत व्यवस्थापनको स्पष्ट खाका नदेखिएको दाबी गरेका छन। "बोल्ने धेरै, गर्ने थोरै" शैलीबाट मतदाता आजित भएको विपक्षीहरूको टिप्पणी छ।
यादव विगतमा पटक–पटक विवादमा तानिँदै आएका नेता हुन। सार्वजनिक अभिव्यक्ति र व्यवहारका कारण आलोचना खेप्दै आएका उनको राजनीतिक छवि समयसँगै कमजोर बन्दै गएको राजनीतिक वृत्तको बुझाइ छ। आफ्नै क्रियाकलापले राजनीतिक विश्वसनीयता गुमाउँदै गएको र त्यसले उनको आधार क्षेत्रमा असर पारेको छ।
यस्तै, पार्टीभित्र आन्तरिक विवाद चर्काउने, कार्यकर्ताबीच विभाजन सिर्जना गर्ने तथा असन्तोष बढाउने पृष्ठभूमि रहेको आरोपसमेत स्रोतहरूले लगाएका छन। यदि नेतृत्वले नै एकता कायम राख्न नसक्ने हो भने क्षेत्रको विकासमा कसरी स्थिरता दिन सक्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ।
पर्सा–३ मा यसपटक मुख्य प्रतिस्पर्धा ठूला दलहरूबीच केन्द्रित देखिए पनि साना दल र स्वतन्त्र उम्मेदवारहरूको भूमिका निर्णायक बन्न सक्ने आकलन छ। यस्तो अवस्थामा उम्मेदवारको विश्वसनीयता, विगतको योगदान, निरन्तर सक्रियता र स्पष्ट विकास एजेन्डा नै मतदाताको रोजाइको प्रमुख आधार बन्ने देखिन्छ।
स्थानीय मतदाताहरू भने भावनात्मक नाराभन्दा ठोस योजना खोजिरहेका छन। विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार जस्ता आधारभूत विषयमा स्पष्ट दृष्टिकोण नभएसम्म मत पाउन सहज नहुने संकेत देखिन्छ। "हामीलाई भाषण होइन, परिणाम दिने नेतृत्व चाहिएको छ," एक स्थानीय मतदाताले स्पष्ट शब्दमा भने।
चुनावी माहोल तातिँदै जाँदा अब उम्मेदवारहरूले आरोप–प्रत्यारोपभन्दा माथि उठेर आफ्नो स्पष्ट योजना र कार्यक्षमता प्रमाणित गर्नुपर्ने दबाब बढेको छ। पर्सा–३ का मतदाताले यसपटक भावनाभन्दा विवेक प्रयोग गर्ने संकेत दिएका छन्। अब हेर्न बाँकी छ, विश्वासको मत कसले जित्छ र कसको राजनीतिक भविष्य यही मैदानमै सीमित हुन्छ।

प्रतिक्रिया