पर्सा । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पर्सा–३ मा नयाँ पुस्ताको नेतृत्वप्रति जनआकर्षण तीव्र बन्दै गएको छ। यही परिवेशमा व्यावसायिक पृष्ठभूमिबाट सामाजिक क्षेत्रमा सक्रिय रुपेश पाण्डेय पर्सा–३ का युवादेखि व्यापारी र बुद्धिजीवीसम्मको साझा अपेक्षाको केन्द्रमा उभिन थालेका छन्। समाजसेवा, जनसंवाद र समस्या समाधानमा केन्द्रित उनको निरन्तर सक्रियताले गाउँ–बस्ती र बजार क्षेत्रमा 'काम गर्ने नेतृत्व' को नयाँ पहिचान बनाएको स्थानीयको बुझाइ छ।
दैनिक रूपमा स्थानीयवासीसँग भेटघाट गर्दै पाण्डेय चिया पसलदेखि गल्ली–चोकसम्म पुगेर नागरिकका समस्या सुन्ने, बुझ्ने र सम्भावित समाधानका मार्ग प्रस्तुत गर्दै आएका छन्। उनले अबको राजनीति नाराभन्दा योजनामा, प्रतिस्पर्धाभन्दा परिणाममा र भाषणभन्दा व्यवहारमा आधारित हुनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्। पोखरिया, पकाहा, महुवन, चीपुरलगायत बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिकरण गर्ने, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्ने तथा धार्मिक स्थल प्रवर्द्धनमार्फत स्थानीय रोजगारी र पर्यटन विकास गर्ने एजेन्डालाई उनले प्राथमिकतामा राखेका छन्। राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर धार्मिक गन्तव्यलाई राष्ट्रियस्तरको आकर्षण बनाउने उनको योजनालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।
देशभर युवाको नेतृत्वबारे आवाज उठाएको जेनजी आन्दोलनपछि पर्सामा पनि नयाँ सोच र नयाँ पुस्ताको नेतृत्वप्रति माग बढ्दै गएको छ। यही माहोलमा पाण्डेयको निरन्तर जनसम्पर्कले उनको लोकप्रियता थप उचो बनाएको देखिन्छ। मानिकपुर–२ का एक स्थानीय बासिन्दाका अनुसार चुनावको बेला मात्र देखिने पुरानो प्रवृत्तिभन्दा फरक ढंगले जनताको समस्या सुन्ने र समाधानतर्फ उन्मुख नेतृत्वको आवश्यकता महसुस भइरहेको छ, र त्यो भूमिका पाण्डेयले निभाइरहेका छन्। पोखरिया बजारकी एक व्यवसायी महिलाले बजार व्यवस्थापन, ढिलाइरहित निर्णय र व्यवहारिक कार्ययोजनालाई अहिलेको मुख्य आवश्यकता बताउँदै पाण्डेयको योजनालाई कार्यान्वयनयोग्य रहेको प्रतिक्रिया दिएकी छन्।
पाण्डेयले पर्सा–३ अन्तर्गतका सात स्थानीय तह र ३५ वडालाई एकीकृत दीर्घकालीन विकास योजनामा जोड्दै आर्थिक, सामाजिक र पूर्वाधार सुधारलाई केन्द्रमा राखेका छन्। विगतमा पर्साबाट धेरै राजनीतिक प्रतिनिधि निर्वाचित भए पनि अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै उनले अब परिणाममुखी, जिम्मेवार र पारदर्शी नेतृत्व अपरिहार्य भएको धारणा व्यक्त गर्दै आएका छन्। उनका अनुसार नेतृत्वको मूल्यांकन पार्टी वा पहुँचका आधारमा होइन, नागरिकका समस्या समाधान गर्न सक्ने क्षमताबाट हुनुपर्छ।
धर्म–संस्कृति संरक्षण, मेलमिलाप, सहकार्य र सामाजिक सद्भावलाई बलियो बनाउने पाण्डेयको दृष्टिकोणले स्थानीय समुदायमा उनको छवि अझै मजबुत बनाएको छ। साझा मुद्दामा समुदायलाई एकताबद्ध गरेर अघि बढ्न सक्ने नेतृत्व गुण पाण्डेयमै देखिएको पर्साका बुद्धिजीवी, व्यवसायी तथा युवाको साझा बुझाइ छ। निरन्तर जनतामाझ रहेर उनीहरूको मर्म र भावना बुझ्दै आएको कारण पाण्डेय अहिले पर्सा–३ मा मात्र होइन, पुरै जिल्लामा युवा पुस्ताका लागि सबैभन्दा उर्जाशील र आशालाग्दो सम्भावित नेतृत्वका रूपमा हेरिन थालेका छन्।
उनको विचारमा नेतृत्वको मूल्यांकन पार्टीको झण्डा, पहुँच वा भाषणका आधारमा होइन, नागरिकका दैनिक समस्या समाधान गर्न सक्ने क्षमताका आधारमा हुनुपर्छ। यही कारण उनले पार्टीगत प्रतिस्पर्धाभन्दा माथि उठेर साझा मुद्दामा सहकार्य गर्ने संस्कृतिको वकालत गर्दै आएका छन्।


प्रतिक्रिया